काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।
काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो। काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ। २९ वर्षीय अलेना अपोजिट हिटर हुन्। अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन्। उनले एभिसी महिला च्याम्पियन्स लिगसमेत खेलिसकेकी छन्।
दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध पछि काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ। पहिलो सिजनमा काठमाडौंमा टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए।
एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ। तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने जनाएको छ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। इडब्लुभिएलको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ।


