काठमाडौं। एपीएफका शिवराज पार्की र त्रिभुवन आर्मीका सलिम देवान प्रथम खुल्ला अण्डर डिस्टेन्स दौड प्रतियोगिता अन्तर्गत पुरुष ६० मिटर स्पर्धामा संयुक्त रुपमा प्रथम भएका छन्।
नेपाली एथ्लेटिक्स क्षेत्रका पुराना हस्तीहरू र हिमालयन रनिङ क्लबको संयुक्त आयोजनामा शुक्रवार दशरथ रंगशालामा भएको यस प्रतियोगितामा प्रथम हुने दुवै जनाले निर्धारित ६० मिटर दूरी ६.६ सेकेन्ड्समा पूरा गरेका हुन्।
नेपालमा फोटो फिनिश प्रविधि उपलब्ध नभएकोले भ्युजल रेकर्डको आधारमा दुवै प्रतिस्पर्धीलाई प्रथम घोषणा गरिएको हो। सोही इभेन्ट्समा ६.७ सेकेन्ड्समा दूरी पूरा गरेका प्रविण राणा भने तेस्रो भए। त्यसैगरी महिला ६० मिटर स्प्रिन्टमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी र रन्जिता अधिकारी प्रथम र द्वितीय बन्दा एपीएफकी लक्ष्मी कुमारी साउद तेस्रो बनिन्।
त्यस्तै, महिला १५० मिटर स्प्रिन्टमा नेपाल प्रहरीकी सीमा चौधरी, त्रिभुवन आर्मीकी जयरानी थारु र कन्चनपुरकी पूजा चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो बनिन् भने पुरुषतर्फ एपीएफका सुशील केसी पहिलो तथा आदेश कुमार यादव र निश्चल महतो दोस्रो र तेस्रो भए। त्यस्तै, पुरुष ३५० मिटर स्पर्धामा त्रिभुवन आर्मीका युवराज बिके, कैलालीका सागर चौधरी र त्रिभुवन आर्मीकै प्रेम बहादुर सुनुवार क्रमशः प्रथम, द्वितीय र तृतीय बने।
सोही स्पर्धाको महिलातर्फ एपीएफकी रमिता कुमारी थारु प्रथम हुँदा त्रिभुवन आर्मीका सरस्वती थारु र कलेशी चौधरी दोस्रो र तेस्रो भइन्। त्यस्तै, पुरुष ६०० मिटरमा त्रिभुवन आर्मीका सोमबहादुर कुमाल र मुकेश बहादुर पाल प्रथम र दोस्रो बन्दा खुम बहादुर शाहीले तेस्रो स्थान हासिल गरे। सोही स्पर्धाको महिलातर्फ भने पोखराकी नारायणी भण्डारी, एनएकी भगवती खड्का र ललितपुरकी अनिशा विश्वकर्मा प्रथम, द्वितीय र तृतीय बनिन्।
प्रशिक्षक राकेश बज्राचार्यको संयोजकत्वमा धनिराम चौधरी, देवीबहादुर बस्नेत तथा एथ्लेटिक्स अफिसियल समूहको बिशेष पहल र एथ्लेटिक्सप्रेमीहरुको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा एक व्यक्तिले एक विधामा मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। देशभरिका खेलाडीहरूलाई खुला रुपमा सहभागी गराइएको यस प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएकालाई मेडल, प्रमाणपत्र सहित क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
विजेताहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, विशेष अतिथि सूर्य विनायक नगरपालिकाका सुमित्रा थापा, एथ्लेटिक्स क्षेत्रका विशिष्ट र वरिष्ठ व्यक्तिहरु सुशील नरसिंह राणा, रघुराज वन्त, मोहन नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए। उक्त कार्यक्रममा एक साताअघि भारतमा भएको वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल ब्रोन्ज टूरमा लङ्गजम्प तर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएका सलिम देवान र सीमा चौधरीलाई पनि सम्मान गरिएको थियो।


