काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–१ ले पराजित भएको हो।
यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको छ। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो।
कोलम्बियाले अर्जेन्टिनासँग कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला समेत लिएको छ। खेलको शुरुवातमै, कोलम्बियाले येरसन मोस्क्वेराको गोलको माध्यमबाट अग्रता लिन सफल भएको थियो।।
तर, अर्जेन्टिनाले निकालेस गोन्जालजको गोलमा खेललाई १–१ को बराबरीमा ल्याउन सफल भयो। त्यसपछि जेम्स रोड्रिग्वेजको पेनाल्टीले कोलम्बियालाई जीत दिलाए।
खेलको ६०औं मिनेटमा कोलम्बियालाई पेनाल्टीको अवसर प्राप्त भयो। अर्जेन्टिनी डिफेन्डर निकोलस ओटमन्डीले कोलम्बियन खेलाडी ड्यानिएल मुनोजलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टीको अवसर दिइयो।
जेम्स रोड्रिग्वेजले यस पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै कोलम्बियालाई २–१ को जित दिलाए।
हारका बाबजुद पनि अर्जेन्टिना शीर्ष स्थानमै रहेको छ। अर्जेन्टिनाको १८ अंक रहेको छ भने कोलम्बिया १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। मंगलबारका अन्य खेलहरूमा इक्वेडरले पेरुलाई १–० ले पराजित गर्दा, बोलिभियाले चिलीलाई २–१ ले हराउन सफल भयो। भेनेजुएला र उरुग्वेबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो।


