बालगोपाल नेपालकै पहिलो प्रो–लाइसेन्स प्रशिक्षक बन्ने तयारीमा

काठमाडौं। बालगोपाल साहुखला नेपालकै पहिलो प्रो–लाइसेन्स प्रशिक्षक बन्ने तयारीसहित अस्ट्रेलियाले जाने भएका छन्।

उनले आगामी सेप्टेम्बर २०२५ देखि फुटबल अस्ट्रेलियाले आयोजना गर्ने एक वर्षे एएफसी प्रो–डिप्लोमा कोर्स सुरु गर्न भएका छन्।

साहुखलाले सन् २०२३ मा कतार फुटबल संघमार्फत एएफसी ‘ए’ लाइसेन्स हासिल गरिसकेका थिए।

उनले हालसम्म नेपाली फुटबलमा विभिन्न भूमिकामा योगदान दिएका छन्। नेपाली यु–२० पुरुष राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। नेपाल यु–१९ महिला राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकको रूपमा नेतृत्व पनि गरेका थिए।

त्यसबाहेक उनले ‘ए’ डिभिजनमा च्यासल युथ क्लब, ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लब र ‘सी’ डिभिजनमा महावीर क्लबको प्रशिक्षण सम्हालिसकेका छन्।

प्रशिक्षक मात्र नभई उनले एफसी रिएले नामक फुटबल क्लबको स्थापना गरेका छन्। यो क्लबले ग्रासरुट स्तरदेखि खेलाडी उत्पादन गरिरहेको छ।

यो क्लबले आफ्नो युथ डेभलपमेन्ट लिग ‘रिएले कप’ पनि आयोजना गर्दै आएको छ। हाल उनको प्रशिक्षणमा रिएलेले एन्फा महिला लिग छनोटमा प्रतिस्पर्धा गरिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको