काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सेन्टर ब्याक सुमन श्रेष्ठले माल्दिभ्सको शीर्ष डिभिजन लिग- दिवेही प्रिमियर लिग खेल्ने भएका छन्।
बिहीबार माल्दिभ्सको ओडी स्पोर्टस क्लबले सामाजिक सञ्जालमार्फत सुमनलाई २०२५-२६ सिजनका लागि अनुबन्ध गरेको जानकारी गराएको हो।
विभागीय टोली एपिएफ क्लबको जर्सीमा देखिँदै आएको सुमन पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्।
नेपालले मार्च २५ मा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोटको तेस्रो चरणको पहिलो खेलमा प्रतिस्पर्धा गरेको थियो। त्यस खेलअगाडि नेपालले सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। सिंगापुरविरुद्ध सुमनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।
गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजन सुमनले बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए। यही सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका सुमन हाल माल्दिभ्समा छन्।
