काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा पुनरागमन जित हासिल गरेको छ।
शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन विजयी हासिल गरेको हो।
पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे। ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९औं मिनेटमा अग्रता दिलाएका थिए।
४२औं मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए। ७३औं मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो। लगत्तै अर्को मिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जीत निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो।
पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ। ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ। फ्रेन्च लिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ। यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्ध बनाएको छ।


