काठमाडाैँ। तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो।
प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलंका, ओमान, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन्। १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ।
‘सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ। त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रसंसनीय छ,’ शर्माले भने।
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ।
समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ। यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ।


