रेडियन्ट कप बास्केटबलमा ४९ टिम


काठमाडाैँ। रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।

रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।

सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ। सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन्। बाँकी २ विधाका समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन्।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडियन्टका संयोजक दिलिप कार्कीले बताए। मंसिर १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ।

पत्रकार सम्मेलनमा रेडियन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवर, आईटी इन्चार्ज विनोद कार्की र प्रोग्राम को–ओर्डिनेटर वर्षाकुमारी आचार्यको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको