काठमाडाैँ। नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन्। नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान ग¥यो।
सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन्। उनले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जितेकी हुन्।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी समितिका सदस्य समेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले एक कार्यक्रमबीच सुनमायालाई नगद र प्रशंसा पत्र प्रदान गरे।
अध्यक्ष कुँवरले विश्वमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउन सफल सुनमायालाई प्रोत्साहन स्वरुप सहयोग गरेको बताउदै नियम अनुसार सरकारले गर्ने सम्मानका लागि पहल भइरहेको बताए।
सुनमायाले महमासंघबाट सम्मान पाउँदा खुशी व्यक्त गर्दै यस खालको सम्मानले खेलाडीहरुलाई प्रेरित गर्ने बताइन्। सुनमायाले जितेको पदक नेपालबाट कुनै पनि खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक भएको महासंघले जनाएको छ। च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले पनि सहभागिता जनाएका थिए।
सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किलोमिटर दूरीको रेसमा पनि प्रतिस्पर्धा गर्दै छिन्। उनी आइतबारै त्यसतर्फ प्रस्थान गर्ने छिन्। महासंघले सुनमायालाई उक्त रेसमा पनि उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना दिएको छ।


