पाँचौँ अन्तरस्कुल प्रतियोगिता : फुटसलमा चेल्सीको वर्चस्व


काठमाडौं। पाँचौँ अन्तरस्कुल फुटसल तथा बास्केटबल प्रतियोगितामा आयोजक चेल्सी वर्ल्ड स्कुलले वर्चस्व बनाएको छ। कार्तिक २४ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल र बास्केटबलका सबै पाँच विधाको च्याम्पियनको टुंगो लागेको हो।

लिगकम नकाउट प्रणालीमा खेलाइएको ६ दिने प्रतियोगिता बास्केटबलमा ३ विधा र फुटसलमा दुई विधा समावेश थिए। प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट ३३ स्कुलको सहभागिता थियो। च्याम्पियन टोलीले ट्रफी र मेडल हातपार्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले इन्डिभिजुअल अवार्ड पनि हात पारे।

बास्केटबलमा टीआईए, मातृभूमी र निम्स च्याम्पियन
बास्केटबलमा ३x३ बोइजमा सहभागित १६ टोलीमध्ये फाइनलमा टीआईए र निम्स पुगेका थिए। जसमा १८-२० को अन्तरले टीआईए च्याम्पियन बन्यो। शिक्षकको पनि ३x३ विधा समावेश थियो। यसमा चेल्सीलाई पछि पार्दै मातृभूमि स्कुल ८-१४ ले विजयी भयो।

त्यस्तै छात्रातर्फ ५x५ मा १२ टोली सहभागी भएको विधामा चाँदबाग स्कुल र निम्स फाइनलमा भिडेका थिए। यसमा ३३-२१ अन्तरले निम्स विजयी भएको प्रतियोगिता संयोजक राजन न्यौपानेले जानकारी दिए।

फुटसलमा चेल्सीको वर्चस्व
फुटसलमा यू-१० र यू-१४ गरी दुईवटा विधा समावेश थिए। यू-१४ मा १६ टोली सहभागी भएकोमा चेल्सी वर्ल्ड स्कुल र रिलायन्स इन्टरनेशन स्कुल फाइनलमा आमनेसामने भएका थिए। यसमा चेल्सीले पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भयो। रोमाञ्चक खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा ६-५ गोलअन्तरले चेल्सी विजयी भयो।

यू-१० तर्फ फाइनलमा चेल्सी र प्रिमियर आईबी वर्ल्ड स्कुलले खेलेका थिए। यसमा चेल्सी ४-२ गोलअन्तरले विजयी बन्यो। विजेता टोलीलाई चेल्सी वर्ल्ड स्कुलकी प्रिन्सिपल छाम्बा डोल्मालगायत प्रमुख अतिथि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपाने र बास्केटबल महिला टोलीका प्रशिक्षक विकाश शाहीले बास्केटबलको पुरस्कार वितरण गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको