काठमाडौं । ओपनर जोस ब्राउनको अर्धशतकको सहयोगमा सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा जारी खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रनको योगफल तयार गर्यो।
सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए। पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे। सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए।
अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए।
अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए। स्कट कुगेलाइन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे। सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन। उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो।
पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए। दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो। सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डू गोर्खाजलाई हराउँदा पोखरा भने विराटनगर किंग्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम जितको यात्रालाई जारी राख्न चाहान्छ। उता, पोखरा भने पहिलो जितको खोजीमा रहेको छ।


