काठमाडौं। तीन विधामा प्रतिस्पर्धामा हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ।
भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि मंसिर २९ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो।
बिहीबार आयोजित एक कार्यक्रमका बीच भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताका बारेमा जानकारी दिए। सो अवसरमा विद्यालयका प्रशासन प्रमुख महेश अधिकारी र खेलकुद इन्चार्ज पूर्ण न्यौपाने पनि उपस्थित थिए। उक्त प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुने भ्याली पब्लिकले जनाएको छ।
सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । तीन विधामा नै कुल आठ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए। तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँका साथ ट्रफी पनि पाउनेछन्। प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ। सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश, ग्रिनल्यान्ड र भ्याली पब्लिक हाई स्कुल डिफेन्डिङ च्याम्पियन हुन्। जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो।
उक्त प्रतियोगिताको भ्याली पब्लिक हाई स्कुलको व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङ र विद्यालयका संस्थापक प्रिन्सिपलले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यो प्रतियोगिता २०६१ सालमा पहिलोपल्ट न्यौपानेकै पहलमा सुरु भएको थियो। त्यसयता कोरोना महामारीका समयमा बाहेक नियमित रूपमा उक्त प्रतियोगिता हुँदै आएको छ।


