काठमाडौं। दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गर्दै च्याम्पियन बनेको हो।
गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १८ अंक स्कोर गरिन्। उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्। यस्तै आइतबारै तेस्रो स्थानको लागि भएको खेलमा ल्याण्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २७-१७ ले हरायो । ल्याण्डमार्ककी अनिशा खत्रीले सर्वाधिक १२ अंक स्कोर गरिन्।
प्रतियोगिताको विजेता गोल्डेनगेटले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता जेभियरले १५ हजार हात पार्यो। प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ।
ग्रसारुटबाटै महिला बास्केटबल खेलाडीहरुको विकास गर्ने र प्रतिभा पहिचान गर्ने लक्ष्यसहित यस प्रतियोगिता गरिएको आयोजकले जनाएको छ।


