काठमाडौं। नेपाल बास्केटबल संघको आयोजनामा *लिनिङ बास्केटबल प्रतियोगिता* सोमबारदेखि सुरु हुने भएको छ।
बौद्धस्थित डंकमाण्डुमा आयोजना हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। यस प्रतियोगितालाई आसन्न हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिताका रूपमा लिइएको संघले जनाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन्। सहभागी १२ टोली बिचको टाई सिट ‘ड्र’ गरिएको थियो। ४ समूहमा विभाजित टोलीहरूमा समूह ए मा आइएसए, तरहर र नेपाल आर्मी, समूह बिमा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह सी मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह डी मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र सङ्कर देव कलेज रहेका छन्।
लिग कम नकआउटको आधारमा हुने नतिजाबाट प्रत्येक समूहबाट दुई टोली क्वार्टर फाइनलमा पुग्नेछ भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ।
नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापाका अनुसार प्रतियोगितामा खुला रूपमा सहभागी टोलीहरूले नाम दर्ता गराएका हुन्।


