काठमाडौँ। एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ तेस्रो स्थान सुरक्षित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
खेलमा एपीएफले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१० ले जित निकाल्दै एकतर्फी दबाब कायम राख्यो।
यससँगै एपीएफले तेस्रो स्थानसहित एक लाख २५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ। खेलकी उत्कृष्ट खेलाडी (प्लेअर अफ द म्याच) एपीएफकी निरुता ठगुन्ना घोषित भइन्।


