एनएसजेएफ स्पोर्ट्स अवार्डको सचिवालय उद्घाटन


काठमाडाैं। एनएसजेएफ स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ। सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थाको सहभागिता रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौं बाहिर हुन लागेको अवार्ड भव्यरुपमा सफल पार्न शुभकामना दिएका छन्। ‘पहिलो पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड काठमाडौं बाहिर हुँदैछ। यो अवार्ड भव्यरुपमा सम्पन्न गर्न शुभकामना छ,’ अर्यालले भने।

काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धकका रुपमा छ। एनएसजेएफले स्पोर्ट्स अवार्डसँगै स्पोर्टस समिटको पनि आयोजना गर्दैछ। उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ। स्पोर्ट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्।

एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन्।

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल(फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको