लालिगुराँस एसोसिएसनको लगातार दोस्रो जित


काठमाडौं। राष्ट्रिय लिगमा पोखराको लालिगुराँस एसोसिएसन क्लबले लगातार दोस्रो जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा लालिगुराँसले बाराको नव जन जागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो।

लालिगुराँसको जितमा आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोइटे जुनियरले समान एक–एक गोल थपे। नव जन जागृतिका लागि उमेश सन्जेलले गरेको गोल सान्त्वना बन्यो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लालिगुराँसले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल भने ब्यहोरेको थियो।

यस जितसँगै दुई खेलबाट ६ अंक जोडेको लालिगुराँस शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजय भोगेको नव जन जागृति अंकविहीन रह्यो।

लालिगुराँसले यसअघि पहिलो खेलमा शीर्ष डिभिजनको जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो भने नव जन जागृति काठमाडौंको चित्लाङ एफसीसँग २–१ ले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको