काठमाडौं। छैटौं संस्करणको टाइगर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा सोमबार तीन खेल सम्पन्न भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारमा महिलातर्फ एक तथा पुरुषतर्फ दुई खेल सम्पन्न भएको छ।
महिलातर्फको खेलमा त्रिवुभवन आर्मी क्लब सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो। आर्मीविरुद्ध एपीएफले खेल २५–११, २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो। पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लबसँग पराजित भएको थियो। आर्मीले भने लगातार तेस्रो हार हो।

पुरुषतर्फको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले खेलमा २५–२०, २५–१८ र २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ।

दिनको अन्तिम खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ। गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो। निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो।

गण्डकीको यो दोस्रो जित हो। पहिलो खेलमा एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो। आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
प्रतियोगिताअन्तर्गत मंगलबार ४ खेल हुनेछन् ।
भिडियाे :


