विश्वकपमा पाकिस्तानको रोमाञ्चक जित


काठमाडौं। आइसीसी पुरुष टी-२० विश्वकपको पहिलो खेलमा समूह ‘ए’ को पाकिस्तानले नेदरल्यान्ड्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लब मैदानमा नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

कुनै समय नेदरल्यान्ड्स जित नजिक पुगेको थियो। तर, अन्त्यमा फहिम अशरफको विस्फोटक ब्याटिङले पाकिस्तानलाई जित दिलायो। उनले ११ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे।

साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५ तथा सलमान अघाले १२ रन बनाए।

यता, बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.५ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २० तथा आर्यान दत्तले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे। साहिन शाह अफ्रिदीले एक विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको