इटालीविरुद्ध स्कटल्यान्ड ७३ रनले विजयी


काठमाडौं। श्रीलंका र भारतमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले फराकिलो जित दर्ता गरेको छ।

कोलकाताको इडन गार्डेन स्टेडियमा जर्ज मुन्सीको आक्रामक अर्धशतक र माइकल लिस्कको चार विकेटको मद्दतमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनायो। मुन्सीले ५४ बलमा १३ चौका र २ छक्कासहित ८४ रन जोड्दै इनिङ्सको आधार तयार गरे। माइकल जोन्सले ३७ रन बनाए भने ब्रान्डन म्याकमुलनले १८ बलमा ४ छक्कासहित अविजित ४१ रनको तीव्र इनिङ्स खेले। अन्त्यतिर माइकल लिस्कले मात्र ५ बलमा २२ रन जोडेर स्कोर थप उचाइमा पुर्‍याए।

२०८ रनको लक्ष्य पछ्याएको इटाली १६।४ ओभरमै १३४ रनमा समेटियो। बेन मानेन्टीले ३१ बलमा ५२ रन र ह्यारी मानेन्टीले ३७ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्।

स्कटल्यान्डका माइकल लिस्कले किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले २ तथा ब्राड कर्री, ब्राड व्हिल र ओलिभर डेभिडसनले समान १–१ विकेट झारे।

यो जितसँगै स्कटल्यान्डले समूह ‘सी’ मा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा सफलता हात पारेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको