गाईघाट। एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आजदेखि उदयपुरमा सुरु हुँदैछ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली गाईघाट एफसी र न्यू रोड टिम (एनआरटी) आमनेसामने हुँदैछन्। खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो दिन एक खेल मात्र सञ्चालन हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुन ९ गतेसम्म जारी रहनेछ। प्रतियोगितामा तीन विभागीय टाेलीसहित १० टिमको सहभागिता रहेको छ।
यस प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। महिला फुटबलको विकास र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


