मच्छिन्द्रलाई झापा गोल्डकपको उपाधि


काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको उपाधि जितेको छ। मच्छिन्द्रले पहिलो पटक झापा गोल्डकपको ट्रफी उचालेको हो।

उपाधिसँगै मच्छिन्द्रले १५ लाख प्राप्त गर्‍यो भने उपविजेता एपिएफले सात लाख ५० हजारमा चित्त बुझायो।

खेलको ३१औँ मिनेटमा मच्छिन्द्रले अग्रता लिँदै एपिएफलाई पछि पारेको थियो। विदेशी खेलाडी अयोला हमजातको पासमा स्ट्राइकर प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अगाडी बढाए। त्यसपछि पहिलो हाफको इन्जुरी समय फ्रयाङ्क अनोहले गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाए।

७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगरले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सीमित भयो। त्यसको केही मिनेटपछि ८२औँ मिनेटमा विश्वास उदासको फ्रि–किकलाई क्लियर गर्न नसक्दा दीपेश धिमालले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने प्रयास गरे।

तर, मच्छिन्द्रले त्यसको एक मिनेटपछि नै निर्णायक गोल गर्यो। अलिसन अलिजोनोभले हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे।

खेलमा मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद रु २५ हजार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तामाङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए। उनीहरूले जनही रु ३५ हजार पुरस्कार प्राप्त गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको