काठमाडौं। आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। तेजस्वी समूह ‘डि’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।
तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले बालकुञ्जलाई ३०–२० ले पराजित ग¥यो। तेजस्वीका प्रज्वल कँडेलले ११ अंक जोडे। संस्कृति शिक्षा सदनले पनि हिमालयलाई ३९–२९ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो। संस्कृतिका रमन गुरुङले २२ स्कोर गरे।
ब्वाइजमै एन्जल्स हार्टले ल्यान्डमार्क एकेडेमीलाई ४८–३९ तथा रिलायन्स पब्लिकले सिद्धार्थलाई ३३–२१ ले पाखा लगाए। एन्जल्स हार्टका रुपेश पौडेलले १६ तथा रिलायन्सका आभूषन घिमिरेले १५ अंक बटुले।
गल्र्समा मानसिंहले ल्यान्डमार्कलाई २६–२२, बेलमोन्टले संस्कृति शिक्षा सदनलाई २३–१५ र तेजस्वीले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले पन्छाए। मानसिंहकी देविका बोगटीले ९, बेलमोन्टकी ब्रिटिना गुरुङले १० र तेजस्वीकी एस्टर बरुवालले ११ अंक जोडे। मानसिंह, बेलमोन्ट र तेजस्वीको लगातार दोश्रो जित हो।


