काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभिसी हाउण्ड्स विजयी भएका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ।
आर्मीले सुरुवाती दुई क्वाटरमा बनाएको अग्रता नै जितको आधार बन्यो। आर्मीले पहिलो क्वाटर ३१-१६ र दोस्रो क्वाटर २७-१३ ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ५८-२९ को अग्रता बनाएको थियो।
तेस्रो क्वाटर २३-२३ को बराबरीमा सकियो भने चाैथो क्वाटर कीर्तिपुरले २७-१५ ले आफ्नो पक्षमा पारेपनि आर्मीलाई जितबाट रोक्न सकेन। यस खेलमा कीर्तिपुरका लक्की महर्जन एक्लैले सर्वाधिक ४३ अंक स्कोर गरे। उनी एकै खेलमा सर्वाधिक अंक स्कोर गर्ने खेलाडी समेत बने। लक्की महर्जन नै खेलको म्यान अफ दि म्याच घोषित भए।
विजयी टिम आर्मीका सिमोन गुरुङले सर्वाधिक २० अंक स्कोर गरे। आर्मीको ११ खेलमा यो दशौँ जित हो। आर्मीले ११ खेलबाट २१ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ।
११ खेलपछि गोल्डेनगेट, आर्मी र टाईम्सको समान २१ अंक छ। तर अंक अन्तरमा गोल्डेनगेट शीर्ष स्थानमा छ। कीर्तिपुरको यो नवौँ हार हो। कीर्तिपुर ११ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा छ।
यस्तै मंगलबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हरायो। हाउण्ड्सले पहिलो क्वाटरमा २८-२३ ले पछि परेको स्थितीमा पुनरागमन गर्दै त्यसपछि तीन क्वाटर आल्नो पक्षमा पारेको थियो। हाउण्ड्सले दोस्रो क्वाटर २०-८,तेस्रो क्वाटर २८-१९ र चाैथो क्वाटर २९-१३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।
हाउण्ड्सको यो लगातार आठौं जित हो। सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले लगातार खेल जितेको छ। ११ खेलबाट १९ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा छ। ११ खेलमा रोएलको यो दशौँ हार हो। हाउण्ड्सका तोमार हर्शवर्दन म्यान अफ दि म्याच घोषित भए। हाउण्ड्सका विजय बुर्जाले सर्वाधिक २० अंक स्कोर गरे।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।


