काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार रोएल र प्लेबक्स एरेनाले जित हात पारेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारको पहिलो खेलमा रोएलले सोलो बास्बकेटबल क्लबलाई ७८-६७ ले पराजित गरेको हो। खेलमा दुवै टिमले दुई-दुई क्वाटर आफ्नो पक्षमा पारेपनि रोएलले रोमाञ्चक जित निकालेको हो।
रोएलले पहिलो क्वाटरमा २५-७ को अग्रता लिएको थियो। दोस्रो क्वाटर सोलोले २६-१४ ले आफ्नो पक्षमा पार्यो तर हाफटाइम्सम्म रोएल नै ३९-३३ ले अघि रह्यो। सोलोले तेस्रो क्वाटर पनि २७-१७ ले आफ्नो पक्षमा पारेपछि चौथो क्वाटरअघि सोलोले ६०-५६ को अग्रता लिएको थियो। तर रोएलले चौथो क्वाटरमा पुनरागमन गर्यो र २२-७ ले आफ्नो पक्षमा पार्दै ७८-६७ ले खेल जितेको हो।
रोएलको १३ खेलमा यो दोस्रो जित हो। रोएलले १३ खेलबाट १५ अंक जोडेको छ। सोलोको यो ११औं हार हो। सोलोको पनि १३ खेलबाट १५ अंक नै भएको छ। लिगमा अब यी दुई टोलीले एक-एक खेल मात्र खेल्न बाँकी छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडबाट बाहिरिसकेको छ। रोएलका आशिष बस्नेत म्यान अफ दि म्याच घोषित भए। उनले सर्वाधिक २६ अंक स्कोर गरे।
यसैगरी शुक्रबारको दोस्रो खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३-७१ ले पराजित गर्यो। पहिलो क्वाटरमा कीर्तिपुरले २२-२१ को अग्रतम बनाएको थियो। तर दोस्रो क्वाटरमा प्लेबक्स खेलमा फर्कँदै २०-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाइसम्म ४१-३८ को अग्रता बनायो। तेस्रो क्वाटर पनि प्लेबक्सले २४-१६ ले आफ्नो पक्षमा पार्दै चौथो क्वाटरअघि ६५-५४ को अग्रता बनायो। प्लेबक्सले चौथो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।
प्ले बक्सको यो तेस्रो जित हो। प्लेबक्सले १३ खेलबाट १६ अंक जोडेको छ। कीर्तिपुरको भने यो दशौँ हार हो र १३ खेलबाट कीर्तिपुरको पनि समान १५ अंक नै छ। लिगमा अब यी दुई टोलीले एक-एक खेल मात्र खेल्न बाँकी छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडबाट बाहिरिसकेको छ। प्लेबक्समा सुदिप कार्की म्यान अफ दि म्याच घोषित भए। उनले १६ अंक स्कोर गरे।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


