काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्भ फुटबल प्रशिक्षण केन्द्रले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ।
विद्यालयहरूको अन्तिम परीक्षा सकिएपछि लामो बिदालाई लक्षित गर्दै क्याम्प सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। बिदाको समयमा विद्यार्थीहरू मोबाइल, ल्यापटप र टेलिभिजनजस्ता उपकरणमा बढी समय बिताउने प्रवृत्तिलाई घटाउँदै शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्य क्याम्पको रहेको छ।
क्याम्पमार्फत विद्यार्थीहरूलाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्ने, खेलकुदमार्फत स्वस्थ जीवनशैली विकास गराउने र उनीहरूको खेल कौशलता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। एसियाली फुटबल महासंघबाट प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण दिने भएकाले क्याम्प प्रभावकारी हुने विश्वास गरिएको छ।
क्याम्पमा सहभागीमध्ये उत्कृष्ट सम्भावना देखिएका दुई प्रशिक्षार्थीलाई एक वर्षका लागि ट्वेल्भ फुटबल प्रशिक्षण केन्द्रमा छात्रवृत्ति प्रदान गरिनेछ। करिब ६ महिनाअघि सञ्चालनमा आएको केन्द्रले आधारस्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
समर क्याम्प २०८२ चैत २८ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म सातदोबाटोस्थित एनएसएफ खेल परिसरमा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। क्याम्पको दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
आयोजकका अनुसार क्याम्पमा विद्यार्थीहरूको मनोरञ्जन, सीप विकास, खेलप्रति लगाव र प्रगतिशील प्रशिक्षणलाई प्राथमिकतामा राखिनेछ।


