नेपाल पुलिसले जित्यो काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२, तेस्रो तथा अन्तिम सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो।

पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटमा हरायो।

पुलिसले घरेलु टोली वाम्कोलाई पुलिससँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।

पुलिस आठौं प्रधानमन्त्री कप महिला भलिबलको लिगको विजेताका रुपमा क्लब च्याम्पियनसिपमा भाग लिएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको