काठमाडौं। नेपालको गल्र्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ।
पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल दोश्रो भएसंगै सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि टोली छनोट भएको छ।
दुई राष्ट्र छनोट हुने प्रावधान अनुसार भारत पहिलो हुँदै छानियो। भारतले सबै चार खेल जित्यो। भारतसंग मात्र पराजित नेपालले ३ खेल जित्यो। नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तान पराजित ग¥यो। २ खेल जितेको श्रीलंका तेश्रो, १ खेल जितेको माल्दिभ्स चौथो र जितविहीन पाकिस्तान पाँचौं स्थानमा रहे।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको अन्तिम दिन गल्र्समा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित ग¥यो। पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले लायरा उषामा अलीलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन्। अर्को सिंगल्समा माल्दिभ्सकी इश्रा इब्राहिमले नेपालकी सारा पन्तलाई सीधा सेटमा ६–३ र ६–३ ले हराउदै खेललाई १–१ को बराबरी अवस्थामा पु¥याइन्। डबल्समा नेपालका नाइरा घले र साराको जोडीले लायरा र इश्राको जोडीलाई ६–३ र ६–१ ले पन्छाएपछि नेपालले सिंगापुर यात्रा पक्का गरेको हो। गल्र्समै भारतले श्रीलंकालाई ३–० ले हरायो।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्ताले बिहीबारै एसियाली फाइनल प्रतियोगिताका लागि स्थान पक्का गरिसकेका थिए। अन्तिम दिन भएको फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले पन्छ्याउदै पहिलो बन्यो।
बंगलादेश बाहेक ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको ब्वाइजमा श्रीलंका तेश्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौ भए। तेश्रो र चौथो स्थान निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २–१ ले पन्छायो। विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र आईटीएफ डेभ्लप्मेन्ट अफिसर जानेथन स्तब्सले एक कार्यक्रमबीच पुरस्कृत गरे।


