काठमाडौं । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जितेकी हुन् ।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भएको हो । दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए ।
केएमजीका अध्यक्ष कैलाश सिरोहिया, प्रमुख कार्यकारी अधिकृत महेश स्वा“र, प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले झन्डोतलन गरेका थिए ।
हाफ म्याराथनबाहेक कर्पाेरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । कान्तिपुर हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढि ४ हजार धावकले सहभागिता जनाएका थिए । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जना दौडिएका थिए ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हु“दै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर टुंगिएको दौड राजनले १ घन्टा ४.०३ मिनेटमा पुरा गरे ।
शीर्ष ३ मा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रहयो । अर्जुन बुढा १ घन्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घन्टा ६.५ सेकेन्डका साथ तेस्रो भए । आर्मीका खडकबहादुर खड्काले जितेका थिए । काठमाडौंका तीर्थ पुन १ घन्टा ७.४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ १ घन्टा ८.०२ मिनेटका साथ पा“चौं र आर्मीकै नरेन्द्र राउत १ घन्टा ९ मिनेट ०३ सेकेन्डका साथ छैटौं भए ।
सन्तोषीले १ घन्टा १८.११ मिनेटमा पुरा गरेर विजेता बनेकी हुन् । धादिङकी उनले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा पुरा गरेकी थिइन् । कान्तिपुर हाफ म्याराथनका पुरुष र महिलातर्फको विजेतालाई नगद १ लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो ।
आर्मीकी निशा पाल १ घन्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए । आर्मीकी निर्मला केसी १ घन्टा २५.५४ मिनेटका साथ चौथो, एपीएफकी फुलमती राना १ घन्टा २८.४३ मिनेटका साथ पा“चौं र सोनसरी रोकाया १ घन्टा ३२.०३ सेकेन्डका साथ छैटौं भए । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार नगद पाएका थिए ।
अजय पाण्डेले एक्स्ट्रिम कलेज रन (७ किमि) जितेका छन् । उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जिते । धमेन्द्र शर्मा दोस्रो र विश्वराम कु“वर तेस्रो भए । धमेन्द्रले २६ मिनेट १८.४० सेकेन्ड र विश्वरामले २६ मिनेट २०.४५ सेकेन्डमा दौड पूरा गरेका थिए ।
कलेज रनकै गल्र्सतर्फ अनुसिया तण्डुकारले उपाधि जितिन् । उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरेका थिए । सजिना रामदाम ३६ मिनेट ३८.०० सेकेन्डबाट दोस्रो र सम्झना कुलुङ ३८ मिनेट ०७.०० सेकेन्डबाट तेस्रो भए । यस कलेज रनमा झन्डै १ हजारको सहभागिता रहेको थियो । कलेज रन विजेता इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल हेर्न जाने छन् । आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्ने गर्न लागेको हो । कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
पुकार बस्नेत र कुसुम तामाङले कर्पोरेट तथा इन्फ्लुन्सर तर्फ विजेता बने । ५ किलोमिटर दुरीमा भएको दौडमा माउन्ट एभरेस्ट सेकेन्डरीका पुकारले १७ मिनेट ४२ः६० सेकेन्डमा पूरा गरे । श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र जयमाता दुर्गा यातायातका युन राई १९ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए ।
महिलातर्फ कुसुमले २४ मिनेट २८.३८ सेकेन्डमा दुरी पार गरिन् । कल्पना महर्जनले २४ मिनेट ३०ः०१ सेकेन्डमा दुरी पार गरेर दोस्रो हु“दा बोलिभा केसीले २४ मिनेट ५४ः६८ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् । कर्पोरेट रनका विजेताहरूले विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका थिए ।
रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल ह्विलचेयरतर्फ विजेता बनेका छन् । रमेशले ९ मिनेट २९.२२ सेकेन्डको टाइमिङ निकाले । दीपक आलेमगर ११ मिनेट ०६.०२ सेकेन्डका साथ दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७.०५ सेकेन्डका साथ तेस्रो भए । पहिलो तीनै स्थानमा आएका काठमाडौं जोरपाटीका हुन् ।
महिलातर्फ अछामकी ऐश्वर्यले १२ मिनेट २६.९९ सेकेन्डमा पुरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्री मगर १३ मिनेट ३०.६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०.०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पाए ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स थियो । यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको थियो ।


