लाङटाङ ट्रेल रन जेठ २३ देखि


काठमाडौं। रसुवा र नुवाकोट जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०८३ आयोजना हुने भएको छ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा आगामी जेठ २३ गते ३२ किलोमिटर दूरीको लाङटाङ ट्रेल रन हुने भएको हो।

रसुवाको क्याङ्जिन गुम्बाबाट सुरु हुने दौड स्याफ्रुबेसीसम्म पुग्नेछ। रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै लाङटाङ ट्रेल रनको बारेमा जानकारी दिएको हो। दौड समुन्द्री सतहबाट करिब तीन हजार आठ सय ७० मिटर उचाइमा रहेको क्याङ्जिन क्षेत्रबाट सुरु हुनेछ।

प्रतियोगिता आगामी जेठ २३ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। उक्त ट्रेल रनमा विदेशी खेलाडीसहित एक सय धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ। साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महिला र पुरुष दुवैमा शीर्ष पाँच स्थान प्राप्त गर्नेले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। वैशाख १० देखि जेठ १० गतेसम्म प्रतियोगिताका लागि दर्ता सुरु हुनेछ। पुरुषतर्फ मिलन कुलुङ राई र महिलामा सुनसरी राई साबिक विजेता हुन्।

विगतदेखि नै रसुवा र नुवाकोटका पर्यटकीय क्षेत्रहरूको पहिचान, अध्ययन, प्रचारप्रसार तथा विकासमा सक्रिय रहेको समाजले २०७२ सालको भूकम्पपछि पुनर्निर्माण तथा पर्यटन पुनर्जीवनमा समेत योगदान पु¥याउँदै आएको छ। त्यस क्षेत्रको ट्रेल रन रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुनेछ। यो दौड प्राकृतिक सौन्दर्य र भौगोलिक चुनौतीका कारण आकर्षक मानिएको छ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहनेछ। जेठ १९ गते सहभागी टोली काठमाडौंबाट स्याफ्रुबेसीतर्फ प्रस्थान गर्नेछ। जेठ २० गते स्याफ्रुबेसीदेखि लाङटाङसम्म पदयात्रा तथा जेठ २१ गते लाङटाङदेखि क्याङ्जिन गुम्बासम्म पदयात्रा गरिनेछ।

उच्च हिमाली क्षेत्रमा प्रतिस्पर्धा हुने भएकाले जेठ २२ गते अनुकूलन तथा तयारीका कार्यक्रम राखिएको छ। मुख्य प्रतिस्पर्धा जेठ २३ गते क्याङ्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दूरीमा सञ्चालन हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि जेठ २४ गते सहभागी टोली काठमाडौं फर्कने तालिका रछ। रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले लाङटाङ क्षेत्रलाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको