काठमाडौं । भोजपुर जिल्ला फुटबल संघ नवौं मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
भोजपुर रंगशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली भोजपुरले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका दोर्जे तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
सुरुदेखि आक्रामक खेल प्रस्तुत गरेको भोजपुरले एपीएफविरुद्ध दुवै हाफमा गोल गर्दै सहज जित निकालेको हो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल शुक्रबार प्लानिङ ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लब, ललितपुरबीच हुनेछ। उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा भोजपुर जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए। प्रतियोगिता वैशाख ६ गतेदेखि सुरु भएको हो।