काेहलपुर गाेल्डकपमा रेसिङ साहाराको विजयी सुरुवात


काठमाडाैं। बाँकेको कोहलपुरमा सुरु भएको चौँथो कोहलपुर गोल्डकप–२०८३ को पहिलो खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले २–१ गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो। प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो। क्लबका लागि पहिलो गोल जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले पहिलो गोल गरे। पेपेले पहिलो हाफको २३ मिनेट ४३ सेकेन्डमा अद्धुल टि रुरोकीको कर्नर किकको सहायताबाट उत्कृष्ट हेडर गोल गरेका थिए।

यस्तै क्लबका लागि ४३ मिनेट १० सेकेन्डमा जर्सी नम्बर ११ का फागुराम चौधरीले दोस्रो गोल गरेका थिए। पहिलो हाफमा केही अवसरहरु पाएपनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन। त्यस्तै दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो।

फलस्वरुप पञ्चकोशीले खेलको ८७ मिनेट ५२ सेकेन्डमा जर्सी नम्बर ३० का खेलाडी नुसाहारा उप्रेतीले जवाफी एक गोल गरे। ‘प्लर्यर अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लबका संयोजक कर्ण बस्नेतले बताए। पेपेलाई सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषि शर्मा,गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष र स्पोटिङ ११ नेपालगन्जका अध्यक्ष धनश्याम रानाले संयुक्त रुपमा ट्रफी,मेडल र नगद् हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी रहेका छन्। प्रतियोगिताको दोस्रो दिन आइतबार (आज) जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने आयोजकले जनाएको छ। विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको