काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १४–८ ले पराजित गर्दै बागमतीले उपाधि उचालेको हो।
प्रतियोगितामा लुम्बिनी प्रदेश तेस्रो र कोशी प्रदेश चौथो स्थानमा रह्यो। विजेता बागमतीले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो स्थानको लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाए। चौथो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेको छ, जुन संघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन्।
बागमतीका दिपेश माझी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।
आयोजक समितिका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विश्वविद्यालय गरी आठ टोलीको सहभागिता रहेको थियो।
विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ, नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपानेलगायतको उपस्थिति रहेको थियो। साथै, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन महर्जनसहितका अतिथिहरूले खेल अवलोकन गरेका थिए।


