काठमाडौं। महिला टी–२० एसियन गेम्स कप छनोटकाे समूह ‘बी’ मा रहेकाे नेपालले चीनलाई १९ रनले पराजित गरेको छ।
मलेसियाको क्वालालम्पुरमा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो।
नेपालको जितमा रिया शर्माले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् भने मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट हात पारे।
चीनका लागि कप्तान मिङयुए झुले सर्वाधिक ३० रन बनाइन्। वाङ हुईयिङले २१ तथा वेई हाईटिङले १८ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। नेपालको इनिङ्समा पूजा महतोले शानदार अर्धशतक प्रहार गर्दै ५७ बलमा ६ चौकासहित ६३ रनको योगदान दिइन्। सोनी पाख्रिनले १८ तथा रुबी पोदार अविजित २२ रन बनाइन्।
चीनकी मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १–१ विकेट हात पारे।
यो जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। दुई खेलबाट चीनकाे दुई अंक छ।