एनेक्स र विपनालाई स्वर्ण

काठमाडाैं। काठमाडौंकाद्वय एनेक्स महर्जन र विपना तामाङले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत उसुमा बुधबार स्वर्ण जितेका छन्। थाइची छ्वानको पुरुषमा एनेक्स तथा महिलामा विपना पहिलो भएका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा ललितपुर अजय वाइबा दोश्रो तथा भक्तपुरका रिसन तिमिला तेश्रो भए। महिलामा ललितपुरकी रुविना गुरुङ दोश्रो तथा नुवाकोटकी रितिका तामाङ तेश्रो बने। पुरुष÷महिलामा समान ६–६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा उसुसहित एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डी गरी ६ खेल समावेश छन्। यसै प्रतियोगिताबाट राखेपको आयोजनामा जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा हुने १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितका लागि बागमतीबाट सहभागी हुने खेलाडी छनोट गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको