काठमाडौँ। रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को च्याम्पियन बनेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधिमाथि कब्जा जमाएको हो। १५६ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै १२ बल बाँकी छँदै जित दर्ता गर्यो।
बेङ्गलुरुको जितमा विराट कोहलीले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। वेंकटेश अय्यरले ३२ रन तथा टिम डेभिडले २४ रनको योगदान दिए। कप्तान रजत पाटीदारले १५ रन जोडे।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे।
यसअघि गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो।
योसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरुले आफ्नो इतिहासमा दोस्रो पटक आईपीएलको उपाधि जित्न सफल भएको छ। यसअघि बेङ्गलुरुले सन् २०२५ मा पहिलो पटक आईपीएलको ट्रफी उचालेको थियो।