अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं। अविनाश सुनार र भगवती खड्काले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन्। दुवै बागमती प्रदेशका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे। १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए। कोशी प्रदेशका टंक यादव दोश्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेश्रो भए। सो स्पर्धाको छात्रामा गण्डकीकी आराध्य चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रुपमा पहिलो भए। दुवै १.४३ मिटर उचाइ नाघे। कोशीकी सुस्मिता बस्नेत तेश्रो भइन्।

छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो। फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन्। बागमतीकै अनिशा थारु दोश्रो तथा लुम्बिनी प्रदेशकी रोशनी कामी तेश्रा बने। उक्त स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए। उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे। गण्डकीका अतित थापा दोश्रो तथा गण्डकीकै अंकित रानाभाट तेश्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते। उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चे। सुदूरपश्चिमका सुरेश चौधरीले रजत तथा लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते। त्यसै स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। लुम्बिनीकै आशिका चौधरी दोश्रो तथा बागमतीकी सुरुची मोक्तान तेश्रो भए।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए। लुम्बिनीका अरविन्द्रकुमार यादव दोश्रो तथा कर्णालीका अनिल शाही तेश्रो बने । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी  अस्मिता धानुक पहिलो भइन्। अस्मिताले दौड पूरा गर्न ५ मिनेट १३.९ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी अञ्जुली मल्ल दोश्रो तथा बागमतीकी शर्मिला विक तेश्रो भए।

सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए। उनले १३.४० मिटर थ्रो गरे। लुम्बिनीका राजन भण्डारी द्वितीय तथा कर्णालीका अनन्त विक तृतीय स्थानमा रहे। उक्त स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन्। बागमतीका मनमाया थिङ दोश्रो तथा अप्सरा श्रेष्ठ तेश्रो भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको