रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

काठमाडौं। गण्डकी प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचेका हुन्। यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र

सन्तबहादुर दराइको नाममा थियो। उनीहरुले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए। गत संस्करणमै बनेको कीर्तिमानलाई उछिन्ने क्रममा ३ मिनेट ३०.७ सेकेन्डको समय निकाल्दै बागमतीका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङ दोस्राे भए। सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त राना तेस्राे बने। उक्त स्पर्धाको छात्रामा बागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारु, भगवती खड्का र सर्मिला विक पहिलो भए। टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गरे। लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोस्राे तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेस्राे भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए। उनले ६.६० मिटर जम्प गरे। बागमतीका दिपेन्द्र गिरी र विशाल गुरुङ तेस्राे स्थानमा रहे। सो स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारु पहिलो भइन्। सुदूरपश्चिमकी उषा चौधरी दोश्रो तथा लुम्बिनीकी गरिमा चौधरी तेस्राे भए।

छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते। उनले ५६.३२ मिटर थ्रो गरे। लुम्बिनीका अमित थारुले रजत तथा कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य जिते। त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन्। पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो। कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोस्राे र तेस्राे भए।

छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए। उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले। कर्णालीका सुमन सुनार दोस्राे तथा लुम्बिनीका सचिन कुर्मी तेस्राे भए। सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेन्ड समयसाथ पहिलो भइन्। सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्राे तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्राे बने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको