९ स्वर्णसहित नेपाल दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियन

काठमाडौं। नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालले ९ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २५ पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो। एक स्वर्ण पदक जितेको बंगलादेश दोस्रो तथा २ रजत र २ कास्य पदक जितेको भारत तेस्रो स्थानमा रह्यो।

दुईदिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र अफगानिस्तानका गरी ५० खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्देश्य स्ट्रीट डिफेन्स तथा आत्मरक्षा कलाको प्रवर्द्धन गर्नुका साथै दक्षिण एसियाली मुलुकहरूबीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।

समापन समारोह टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यता, वडा नम्बर ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको विशेष आतिथ्यता तथा नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनका अध्यक्ष रामबहादुर ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने उल्लेख गर्दै यस्ता प्रतियोगिताको प्रवर्द्धन र सहयोगका लागि नगरपालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गरे।

टोखा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक विजेतालाई दुई हजार रुपैयाँ, रजत पदक विजेतालाई एक हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनका महासचिव शिवबहादुर थापाले जानकारी दिए।

प्रतियाेगितामा पुरुषतर्फ अमित थापा तथा महिलातर्फ निर्जला आलेमगर उत्कृष्ट खेलाडी घाेषित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको