मन्त्री पोखरेलद्वारा कर्णाली रंगशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशस्थित कर्णाली रङ्गशालाको अनुगमन गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको अवस्थाबारे जानकारी लिन मन्त्री पोखरेल मंगलबार स्थलगत निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै तय गरिने र प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रंगशालाको वर्तमान अवस्था, निर्माण तथा स्तरोन्नतिको प्रगति र प्रतियोगिताको तयारीबारे जानकारी गराएका थिए।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार तथा भौतिक संरचनाको अभाव रहेको उल्लेख गर्दै त्यसको विकास र विस्तारका लागि सरकारले आवश्यक ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। साथै, खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक बजेट तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री पोखरेलले जोड दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको