काठमाडौं । विभागीय टोली द्वय एपिएफ फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई ७–० ले पराजित गरेको हो।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरिन्। रश्मिले ३५,४०,५८,८२ र ८८ मिनेटमा गोल गरे। अनिता बस्नेत र सविता रानामगरले पनि गोल थपे।
अपराजित रहेको एपिएफले जितसँगै ९ खेलबाट २५ अंक जोड्यो। बागमतीले भने समान खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सक्कायो।
यस्तै, दिनको दोस्रो खेलमा आर्मीले कर्णली प्रदेश फुटबल संघलाई ५–० ले पराजित गरेको हो।
आर्मी जितमा चन्द्रा भण्डारी, विमला चौधरी, अमिशा कार्की, दीपा शाही र दीपा राईले गोल गरे।
जितसँगै लिगमा ९ खेलबाट २२ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो। पराजित कर्णाली समान खेलबाट ४ अंकका साथ नवौं स्थानमा रहेर बाहिरियो।


