एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाने

काठमाडौं। जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ।

खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुने छिन्। प्रशिक्षकमा प्रकाश महर्जन छन्।

एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जाने छन्। नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जनाएका छन्।

महासचिव ढुंगानाले तत्काललाई खेलाडी १ महिनाका लागि प्रशिक्षणमा रहने बताउदै थप १ महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए। उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
सो अवसरमा सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए। उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरे।

कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसंग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको