काठमाडाैं। अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन्। सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा चयन भए।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासविच कार्कीसहित कार्यकारी १४ सदस्य पदका लागि २४ राष्ट्रका त्यत्तिनै उम्मेदवारले उम्मेदवारी दिएका थिए। कार्कीले ७० प्रतिशत मत हासिल गरे। कार्कीले निर्वाचित मध्ये आफूले दोश्रो उच्च मत प्राप्त गरेको बताए।
सन् २०१८ देखि हालसम्म आईएसएफ टेक्निकल कमिसनअन्तर्गत तेक्वान्दोका अध्यक्ष समेत रहेका कार्की ४ वर्षका लागि निर्वाचित भएका हुन्। पुनः निर्वाचित भएपछि कार्कीले यो आफ्नो व्यावसायिक जीवनकै ठूलो सम्मानमध्ये एक भएको बताउदै नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताए।
कार्कीले आफूलाई विश्वास, भरोसा र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।