काभामा नेपालको ‘गर या मर’ भिडन्त, आज घरेलु टोली पाकिस्तानको चुनौती

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष टोलीले काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत आज आफ्नो तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।

पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समयअनुसार आज साँझ ५ः४५ बजे सुरु हुनेछ।

लगातार दुई खेलमा ३–२ को सेटमा हार बेहोरेको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछ। नेपाल पहिलो खेलमा काजाकिस्तानसँग तथा दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो।

यता, घरेलु टोली पाकिस्तान उत्कृष्ट लयमा छ। उपाधिको बलियो दाबेदार मानिएको पाकिस्तानले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरिसकेको छ।

सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। लगातार तेस्रो हार बेहोरे नेपालको अन्तिम चार पुग्ने यात्रा झन् कठिन बन्न सक्छ।

हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट हुन्। अनुभवी खेलाडीहरू विदेश पलायन भएपछि यसपटक पहिलोपटक राष्ट्रिय टोलीमा परेका ६ नयाँ खेलाडी समेटेर नेपाल प्रतियोगितामा सहभागी भएको छ।

नेपालले समूह चरणका बाँकी खेलमा आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको