काठमाडौं। भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ३ विधामा ५८ टिमको सहभागिता रहने भ्याली पब्लिककी सह–संस्थापक सुनिता विष्ट अधिकारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्।
यु–१६ सिनियर ब्वाइजमा २६, यु–१६ सिनियर गल्र्समा १६ र यु–१२ जुनियर ब्वाइजमा १६ टिमले भाग लिने छन्। उमेरसमूहमा पहिलोपटक प्रतियोगिता हुन लागेको हो। यसअघि विद्यार्थी अध्ययनरत कक्षाका आधारमा प्रतिस्पर्धा भएको थियो।
नेक्स्टस्पोट्र्जको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख २५ हजार २ सय ५० रुपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले जानकारी दिए। साउन १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भंगालस्थित आयोजककै हलमा खेलाइने छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न भ्याली पब्लिक इसीए÷सीसीए इन्चार्ज अजय बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ।