काठमाडौँ। राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन्।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको चौथो दिन शनिबार राजनले आयुष गौतमलाई बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा ४–० ले सजिलै पराजित गरे। यसअघि, उनले विकास महर्जनलाई ४–२ ले हराएका थिए।
राजनसँग पराजित भएपछि विकासले शनिबार अमन कार्कीलाई ४–० ले हराएर अन्तिम आठमा पुग्ने आफ्नाे सम्भावना कायम राखेका छन्। यसैगरी पहिलो खेलमा हार वेहोरेका राजन लामाले पनि आफ्नाे दोस्रो खेलमा जय महर्जनलाई रोमाञ्चक ढङगले ४–३ ले हराएर शीर्ष आठमा पुग्ने सम्भावना जिवित राखे। जय र अमनले लगातार दोस्रो हार ब्यहाेरेका हुन्।
यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ। प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ।