काठमाडौं। नेपालका नम्बर एक खेलाडी वाङचु तामाङ लगातार दोस्रो जितसहित प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन्।
काठमाडौं खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको पाँचौँ दिन आइतबार तामाङले बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा सविन तामाङलाई ४–१ ले हराए। उनले यसअघि, विनेद श्रेष्ठलाई पराजित गरेका थिए। विकास महर्जन पनि समूह चरणमा आफ्नो अन्तिम खेलमा आयुष गौतमलाई ४–२ ले हराएर क्वाटरफाइनलमा पुगे। पहिलो खेलमा राजन गुरुङसँग हारेपछि विकासले शनिबार अमन कार्कीलाई हराएका थिए।
आकाश गजमेर समूह चरणमा तीनै खेल जितेर नकआउटमा पुगे। उनले समूह चरणमा आफ्नाे अन्तिम खेलमा जय महर्जनलाई ४–१ ले निराश बनाए।
यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ। प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ।