भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न

काठमाडाैं। भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

अधिवेशनबाट अध्यक्षमा दमुना बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ भने अन्य पदाधिकारी तथा सदस्यहरू समेत निर्वाचित भएका छन्।

अधिवेशन सम्पन्न भएसँगै नेपाल केम्पो खुकुरी फेडेरेशनले नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा फेडेरेशनका केन्द्रीय अध्यक्ष पाभेल कुमार शाह, उपाध्यक्ष इन्द्रभक्त चित्रकार, महासचिव शर्मिला कार्की लगायत केन्द्रीय पदाधिकारी, प्रशिक्षक, अभिभावक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष पाभेल कुमार शाहले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भक्तपुर जिल्लामा केम्पो खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन आग्रह गरे। उनले सन् २०२६ मा टर्कीमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले स्वर्णसहित विभिन्न पदक जितेर राष्ट्रको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा भक्तपुरबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे।

उनले केम्पो खेलको संस्थागत विकास, दक्ष प्रशिक्षक उत्पादन, अनुशासित खेल संस्कृतिको प्रवर्द्धन तथा युवा पुस्तालाई खेलमार्फत राष्ट्र निर्माणमा जोड्न जिल्ला कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष दमुना बुढाथोकीले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै केन्द्रसँग सहकार्य गर्दै भक्तपुर जिल्लामा केम्पो खेलको विस्तार, नियमित प्रशिक्षण, खेलाडी उत्पादन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहने बताए।

कार्यक्रमको अन्त्यमा नेपाल केम्पो खुकुरी फेडेरेशनका तर्फबाट नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सम्मान, बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको