काठमाडाैं। आयोजक संस्कृति शिक्षा सदन, ह्वाइट हेभेन एकेडेमी र इडिफाइ इन्टरनेसनल एकेडेमीले १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन्।
बिहीबार सम्पन्न प्रतियाेगितामा संस्कृति सिनियर गल्र्स, ह्वाइट हेभेन सिनियर ब्वाइज र इडिफाइ जुनियर ब्वाइजमा च्याम्पियन बनेकाे हाे। सिनियर गल्र्सको उपाधि भिडन्तमा संस्कृतिले तेजस्वी एकेडेमीलाई १–० गोलले पराजित ग¥यो। संस्कृतिकी सुहाना खड्काले निर्णायक गोल गरिन्। ल्यान्डमार्क एकेडेमी तेश्रो भयो।
सिनियर ब्वाइजको फाइनलमा ह्वाइट हेभेनले निम्बल एकेडेमीलाई २–१ गोलले हरायो। विजयी टिमका लागि विवेश बर्देवाले दुवै गोल गरे। स्वेता सदन स्कुल तेश्रो बन्यो।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भएको प्रतियोगिताको जुनियर ब्वाइजको फाइननलमा इडिफाइले ह्वाइट हेभेनलाई टाइब्रेकरमा २–१ ले पाखा लगायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। ल्यान्डमार्कले तेश्रो स्थानमा चित्त बुझायो।
सिनियर गल्र्समा संस्कृतिकी सुहाना खड्का उत्कृष्ट खेलाडी तथा संस्कृतिकी आचल अधिकारी उत्कृष्ट गोलरक्षक घोषित भए। सिनियर ब्वाइजमा ह्वाइट हेभनका विवेश बर्देवा उत्कृष्ट खेलाडी तथा सोही विद्यालयका पल्लभ पुन मगर उत्कृष्ट गोलरक्षक चुनिए। जुनियर ब्वाइजमा इडिफाइका आदर्श आले मगर उत्कृष्ट खेलाडी तथा इडिफाइकै अंकित राई उत्कृष्ट गोलरक्षक बने।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान अनु लामा, टोप्सका अध्यक्ष भरतमणि पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चारदिने प्रतियोगिताको सिनियर गल्र्समा १२, सिनियर ब्वाइजमा १५ र जुनियर ब्वाइजमा १४ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक कृष्ण न्यौपानेले जनाएका छन्।