नेपाल स्की संघको सातौँ नियमित साधारण सभा सम्पन्न

काठमाडौँ। नेपाल स्की संघको सातौँ साधारण सभा आइतबार सम्पन्न भएको छ। स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले आर्थिक वर्ष २०८३–८४ का लागि ३४ लाख ८० हजार ८०० रुपियाँ वार्षिक बजेट छुट्याएको छ।

स्की संघले आगामी वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक्स तयारीका लागि सो बजेट पारित गरेको हो। बन्द सत्रले स्की संघकी उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

बन्द सत्रले नयाँ लेखापरिक्षकको नियुक्ती र अर्को वर्ष नियमित साधारण सभा गर्ने निर्णय पनि गर्यो। स्की संघले बिआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरिक्षकको लागि चयन गरेको छ।

साधारण सभामा भौतिक र भर्चुअल रुपमा स्की संघका पदाधिकारी र सदस्यहरुले सहभागिता जनाएका थिए। स्की संघको नयाँ विधानमा भौतिकरुपमा उपस्थित हुन नसकेको स्थितिमा भर्चुअल तरिकाले पनि साधारण सभामा भाग लिनसक्ने प्रावधान रहेको छ।

यसअघि काठमाडौँ स्व्यम्भूस्थित वज्र होटलमा नेपाल स्की संघको साधारण सभाको उद्घाटन समारोह उपाध्यक्ष रमा भट्टराईको सभापतित्व र अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष पनि हुनु।

अध्यक्ष श्रेष्ठले खेलकुदमा अस्थिरताका कारण खेलकुदले जुन उचाई र सफलता प्राप्त गर्नुपर्ने हो त्यसमा हामी पछाडि परिरहेको अनूभूति गरेका छौँ, उनले भने। ‘सबैले आआफ्नो ठाउँबाट वैधानिक व्यवस्थानअनुसार इमान्दार भएको काम गर्ने हो भने खेलकुदका अस्थिरता अन्त्य हुन्छ। जसले खेल संघहरु निर्धक्कसाथ खेलको विकासमा अग्रसर हुनसक्छ‘ छ। यसैगरी अध्यक्ष श्रेष्ठले देशमा भएको परिवर्तनले खेलकुद क्षेत्रमा पनि सकारात्मक दिशामा परिवर्तनका काम हुनेमा आफू आशावादी भएको बताउँदै अन्यौलता, अस्थिरता र हस्तक्षेपका कुरा अन्त्य भएमा खेलकुदको विकास र राष्ट्रको गौरव बढाउने काममा सफलता प्राप्त गर्नसक्छौँ, उनले भने।

उनले स्की खेलको विषयमा चर्चा गर्ने क्रममा यो खेललाई विकास गर्ने जमर्कोसहित अगाडि बढिरहेको र सोचेको अनुसार धेरै कुरा गर्न नसकेपनि हरसम्भव प्रयास गरिरहेको बताए। सर्वोच्च सगरमाथा भएको हिमालै हिमालको हाम्रो देशमा विन्टर खेलकुदको बारेमा धेरै कमलाई मात्र जानकारी भएको भन्दै यस खेललाई विकास गर्न सक्यो भने नेपाललाई स्की खेल पर्यटनको गन्तव्य बनाउन सक्ने जानकारी दिए।

सभापति भट्टराईले यस खेलको प्रवर्धनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। यसैगरी स्की संघका महासचिव विजय श्रेष्ठले नेपालमा स्की खेल खेल्न धेरै चुनौती भएपनि सम्भव भएसम्म संघले यस खेलको प्रवर्धनमा काम गरिरहेको बताए।

उद्घाटन समारोहमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिमिल्सिना, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि धन शाहीले शुभकामना मन्तव्य राखेका थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको